चीनबाट नेपालीलाई उद्धार गर्न कांग्रेसको सरकारसँग माग, प्रेस विज्ञप्तिको (पूर्णपाठसहित)

काठमाडौं , माघ १७ । । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणको महामारी रहेको चीनबाट नेपालीलाई उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका हुन् ।

कोरोना संक्रमणबाट सतर्क रहन सबैमा अनुरोध गर्दै सभापति देउवाले कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति कांग्रेसकोतर्फबाट समवेदना व्यक्त गरेका छन् । साथै उनले भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंशा गरेका छन् ।

सभापति देउवाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ :

चीनको वुहान सहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कयौको मृत्यु भईसकेको छ भने यसवाट हजारौं संक्रमित भएका छन् । कोरोनाका कारण जीवन गुमाएका सवै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति नेपाली काँग्रेस का तर्फवाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागी चिन सरकारले गरिरहेको प्रभावकारी प्रयासको म हार्दिक प्रशंशा गर्दछु । अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता संगै नेपाल देशले राख्नु पर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउंदै म सार्वजनिक अपिल गर्न चाहान्छु ।

१. कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कता बारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ । नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न म नेपाली काँग्रेसका साथीहरुसंगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई बिशेष आग्रह गर्दछु ।

२. नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस् ।

३. कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुस्खद र आपत्तिजनक छ । कोरोना भाईरसको संक्रमणबाट जोगाउंदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।

४. वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु ।

५. संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु ।

अन्त्यमा,
कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपुर्वक सतर्कताका लागि म नेपाली काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी दाजुभाइमा बिशेष अपिलपनि गर्दछु । जय नेपाल ।

शेर बहादुर देउवा
सभापति

प्रतिक्रिया दिनुहोस्