एभरेष्ट बैङ्कले कमायो डेढ अर्ब नाफा
काठमाडौं , माघ १६ । एभरेष्ट बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा डेढ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको नाफाको अवस्थामा सामान्य वृद्धि गर्दै एभरेष्टले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष बैङ्कले १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैङ्कले पुस मसान्तसम्ममा १४१ अर्ब १९ करोड निक्षेप संकलन गरी ११४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा १२ र १० अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप १२९ अर्ब ५६ करोड र कर्जा १०४ अर्ब ६४ करोड रुपैयाँ थियो ।
पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ७ अर्ब २६ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा ३१ करोड रुपैयाँले बढी हो । यो वर्ष ५ प्रतिशत मात्रै बोनस शेयर जारी गरेको बैङ्कले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४१ करोडले बढाएर ८ अर्ब ५१ करोड रुपैयाँ पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको देखिएको छ ।
एभरेष्ट बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा उल्लेख्य वृद्धि गरेको छ । ब्याज आम्दानी ६ अर्ब २० करोडबाट बढेर ७ अर्ब १७ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ३५ करोडबाट ४ अर्ब २६ करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । अरु बैङ्कहरुको ब्याज खर्च यो अवधिमा उच्च गतिले बढ्दा पनि सनराइजको यस्तो खर्चमा संयमता देखिएको हो । कर्मचारी खर्च भने ८० करोडबाट बढेर ८८ करोड र अन्य सञ्चालन खर्च करिब ३० करोडबाट ३८ करोड रुपैयाँ पुगेको देखिएको छ ।
पुस मसान्तसम्म सो बैङ्कको पुँजीकोष अनुपात १२.३३ प्रतिशत छ यो तुलनात्मक रुपमा कसिलो अनुपात हो, बैङ्कले ५ प्रतिशत मात्र बोनस शेयर जारी गर्दा । निष्क्रिय कर्जा अनुपातलाई ०.१९ प्रतिशतबाट ०.१६ प्रतिशतमा झार्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्