सत्यनिरुपण तथा वेपता आयोगको म्याद एक वर्ष थपियो

काठमाडौ , माघ १६ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थपेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दुवै आयोगको कार्यावधि एक वर्ष थप गरिएको जानकारी दिएका हुन्।

ती दुबै आयोगको म्याद आउँदो चैतमा सकिँदै थियो । यसैगरी मन्त्रिपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ । त्यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा बर्दियाका निर्मल लामिछानेलाई तीन वर्षका लागि मनोनित गरेको छ ।

यस्तैगरी, जलवायू परिवर्तन तथा विपद्बाट हुनसक्ने सम्भावित जोखिम वहन गर्न विश्व बैंक समूहको अन्तर्रा्ष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अर्थमन्त्रालयको अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्