सनराइज बैंकको वितरणयोग्य नाफा ५१ करोडभन्दा बढी

काठमाडौं , माघ १६। सनराइज बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ९४ करोड ४३ लाख ८८ हजार खुद नाफा गरेको छ । बैंकले बिहीवार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष यसै अवधिमा बैंकले रू. ७९ करोड २७ लाख ५३ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष १९ दशमलव १२ प्रतिशतले नाफा बढेको हो ।

सञ्चालन मुनाफा पनि गत वर्षभन्दा १८ दशमलव ४२ प्रतिशत बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा रू. १ अर्ब १३ करोड ५९ लाख ३ हजार सञ्चालन गरेको बैंकले यस वर्ष रू. १ अर्ब ३४ करोड ५१ लख ५० हजार गरेको छ । बैंकको यस अवधिमा वितरणयोग्य नाफा रू. ५१ करोड ९० लाख ३८ हजार रहेको छ ।

यस वर्ष १० प्रतिशत बोनस शेयरबाट चुक्तापूँजी रू. ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार पुगेको छ । जगेडा कोष रकममा पनि गत वर्षभन्दा ४ प्रतिशत वृद्धि देखिएको छ । जगेडा कोष रकम रू. २ अर्ब ९३ करोड १० लाख ४ हजार कायम भएको छ । बैंकले यस त्रैमासमा रू. ८२ अर्ब १५ करोड ५८ लाख १४ हजार निक्षेप संकलन गरेको छ भने रू. ७५ अर्ब ५८ करोड ७८ लाख ५२ हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष भन्दा बैंकले निक्षेप संकलन करीब ९ प्रतिशत र कर्जा प्रवाह ९ दशमलव ७६ प्रतिशत वृद्धि गरेको हो । निष्क्रिय कर्जा १ दशमलव ६९ रहेको यस बैंकको प्रतिशेयर आम्दानी यस त्रैमासमा रू. २१ दशमलव शून्य ६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्