कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं , माघ १६ । कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७० पुगेको छ।बिहीबार बिहान विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ७० पुगेको जनाएको छ। साथै सो भाइरसको ७ हजार ७ सयलाई संक्रमण रहेको बताइएको छ।
मृत्यु हुनेहरु प्राय चीनको मध्य प्रान्त हुबेइका रहेको रोयटर्सले जनाएको छ। यो भाइरस गत महिना चीनको प्रान्तीय राजधानी वुहान शहरको एक जीवित जंगली जनावरमा देखा परेको थियो।

कोरोना भाइरसको प्रभाव बढेसँगै विभिन्न राष्ट्रका नागरिकहरुले चीन छाडेका छन्। हालसम्म १९५ अमेरिकी नागरिकले कुहान शहर छाडिसकेका छन् भने २१० जापानी नागरिकहरु टोकियो फर्केका छन्।

जापान फर्केका नागरिकमध्ये तीन जनामा भाइरसको संक्रमण पुष्टी भएको छ। फ्रान्स, न्युजिल्याण्ड, अष्ट्रेलिया लगायतका राष्ट्रहरुले पनि आफ्ना नागरिकहरुलाई फर्काउन प्रकृया अघि बढाएका छन्।

यो भाइरस नेपाल, जर्मनी, फ्रान्स, अमेरिका लगायतका १५ मुलुकमा फैलिसकेको रोयटर्सले जनाएको छ। गत मंगलबार बेलायतको परराष्ट्र कार्यालयले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न आग्रह गरेको थियो।सो आग्रहसँगै बुधबार ब्रिटिश एयरवेजले चीनसँगका सबै उडान स्थगित गरेको छ।

यसैबीच कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय भए पनि त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको औंलाएका छन ।

कोरोना भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भन्ने निर्क्यौल गर्न डब्लुएचओले बिहिबार बैठक समेत आह्वान गरेको छ ।त्यसअघि स्विट्जरल्याण्डको जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले चीनमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जानुले भयावह अवस्थाको संकेत गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्