चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार, नेपाल के गर्दैछ ?

काठमाडौं, माघ १५ । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् ।विकसित तथा शक्तिशाली मुलुकले चीनको उहानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका हुन्। चीनको हुबेई प्रान्तको राजधानी उहानमा कोरोना भाइरसका कारण भयावह स्थिति सिर्जना भएपछि ती मुलुकले आफ्ना नागरिकको उद्धार कार्य सुरु गरेका हुन्।

खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ ।

जापानले उहानबाट २ सय ६ जना आफ्ना नागरिकलाई उद्धार गरी टोकियो ल्याइसकेको छ। राजधानी टोकियो पुग्नुअघि भाडामा लिइएको एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।अस्ट्रेलिया, न्यूजिल्यान्ड र ‘ईयू’ले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएका छन् ।

चीनबाट आफ्ना नागरिक ल्याउन अमेरिकाले भाडामा लिएको विमान अलास्का पुगेको छ ।अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर स्वास्थ्य परीक्षणपछि मात्र घर फर्काउने योजना बनाएको छ ।भारतले पनि उहानमा रहेका आफ्ना नागरिकको उद्धार प्रक्रिया अघि बढाएको छ। चीनसँग मास रेस्क्युको लागि भारतले अनुमति लिइसकेको जनाइएको छ।

दक्षिण कोरियाले चार चार्टर प्लेन आफ्ना नागरिकको उद्धारको लागि उहान पठाउँदैछ। उहानमा रहेका ७ सय दक्षिण कोरियाली नागरिकले उद्धारका लागि आफ्नो सरकारलाई गुहारेका थिए।
यसै साता फ्रान्सले पनि उहानबाट आफ्ना नागरिकको उद्धार गर्ने घोषणा गरेको छ।

के गर्दैछ नेपाल ?

कोरोना भाइरसको महामारी देखिएको उहान सहरमा एक सय हाराहारीमा नेपाली रहेका छन्। उनीहरू सबै सम्पर्कमै रहेका बेइजिङस्थित नेपाली दूतावास जनाएको छ।दूतावासका अनुसार सूचना आदानप्रदानका लागि हुईच्याटमा गु्रप बनाइएको छ। ‘त्यहाँ रहेका नेपालीलाई सहायतालगायत भैपरी काम गर्न बेइजिङस्थित दूतावासले विशेष सेल बनाएको छ। आवश्यक परेको खण्डमा त्यहाँ रहेका नेपालीलाई पनि उद्घार गर्छौ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने। हालसम्म भने नेपालले उहानबाट कुनै पनि नागरिकको उद्घार प्रक्रिया सुरु गरेको छैन।

प्रतिक्रिया दिनुहोस्