राष्ट्रियसभा निर्वाचनः दुई रङमा चार प्रकारका मतपत्र

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई रङका चार प्रकारका मतपत्रबाट मतदान हुने भएको छ । प्रदेशसभा सदस्यले एउटा रङको मतपत्रबाट मतदान गर्नेछन् भने स्थानीय तहबाट प्रतिनिधित्व गर्ने उपप्रमुख एवं प्रमुखले अर्को रङको मतपत्रबाट मतदान गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ ।

निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, मतपत्रको ढाँचा, मतदान र मतगणना लगायतका विषयमा छलफल एवं परामर्श गर्ने क्रममा त्यस्तो जानकारी दिएको हो ।
मतपत्रको ढाँचामा प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै मतपत्र तयार गरिनेछ भने सातवटै प्रदेशमा मतगणना हुनेछ । दलसँगको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन, व्यवस्थापन, मतदान र मतगणनाको प्रक्रिया, मत्रपत्रको ढाँचा, आयोगले हालसम्म गरेको तयारी र दलबाट आयोगले गरेको अपेक्षा लगायतका विषयमा परामर्श भएको थियो ।
आयोगका अनुसार छलफलमा दलहरूले आयोगको तयारीप्रति सन्तोष प्रकट गर्दै मतपत्र मतदातामैत्री एवं व्यावहारिक हुनुपर्ने सुझाव दिएका छन् ।
शुक्रबारबाट आचारसंहिता लागू हुने
प्रमुख आयुक्त यादवले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिए । उनले संवैधानिक निकायको कानुनी दायित्वलाई मनन गरी दलका नेताहरूबाट आफ्ना भनाइ र विचार सार्वजनिक गर्नसमेत सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्