नेपालमै कोरोना भाइरसको नमुना परीक्षण। सचेत रहनु, तर नआत्तीनु

काठमाण्डौ, १३ माघ । सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण गर्ने भएको छ । चीनमा भयावह अवस्थामा फैलिको कोरोना भाइरस नेपालमा पनि हुन सक्ने आशंका गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण गर्ने भएको हो ।

कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले सोमबारदेखि परीक्षण गर्ने तयारी छ । उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।
यसैबीच चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ । चीनबाट आएका व्यक्तिमा सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना सङ्क्रमण भएका पर्यटक आए त्यहीँबाट चीन फर्काइदिने तर नेपालीमा कोरोना भेटिए नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाउने सहमति भएको छ ।

नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरसको पुष्टि भएको र अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शङ्का गरिएको दुई जनाको नमुना परीक्षणको लागि हङकङ पठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

अहिले शङ्का गरिएका दुई जनालाई डाक्टरको निगरानीमा राखिएको छ । कोरोना भाइरसबारे सचेत हुन पर्छ, तर नआत्तिन चिकित्सकले आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्