अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं , माघ १२ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव गरेका थिए।उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका हुन्।

असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी दिएन। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि सभामुख रिक्त थियो।

प्रस्तावका समर्थनमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, ओनसरी घर्तीले बोलेका थिए । सापकोटाले संसदलाई तटस्थ, जनपक्षीय र सन्तुलित ढंगले सञ्चालन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्