सापकोटाविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने, यता सभामुखमा सर्वसम्वत हुने निश्चित
काठमाडौं , माघ १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पर्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सु्नुवाई न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने भएको छ । सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयाँलले कानुन व्यवसायीको हैसियतले सापकोटाकै विरुद्ध बहस गरेका कारण उनले सो मुद्दा हेर्न नमिल्ने सर्वोच्च स्रोतले बताएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाई फुयाँलको एकल इजलासमा तोकिएको थियो । सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए ।
यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए । सापकोटाको मुद्दा आज हेर्न नमिल्नेमा परेको कारण आजको पेशी स्थगित भएको छ ।
उनले सभामुखको निर्वाचन पनि आजै भएका कारण प्रधानन्यायाधीशले अर्को न्यायाधीशको इजलासमा सो रिटको सुनुवाई तोक्नु पर्ने धारणा राखेका हुन् । उनले भारतमा समेत यस्तो नजीर बसिसकेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नै भेटेर छलफल गर्ने बताए ।
यता सभामुखको निर्वाचन पनि आजै रहेको छ । विपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिएकाले एकल उम्मेदवार रहेका सापकोटा सर्वसम्वत हुने निश्चित छ । तर, न्यायाधीश फुयाँलले रिटको सुनुवाई आफुले नैतिकताका आधारमा हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सो मुद्दामा अन्योल देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्