सकसमा सापकोटा : हत्याका आरोपीलाई समाभुख नबनाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ, माघ ११ । प्रतिनिधिसभाको सभामुखका निर्विरोध उम्मेदवार बनेका छन्  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अग्नि सापकोटा । सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनलाई १२ गते सभामुख निर्वा्चित भएको घोषणा हुँदैछ । तर उनी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट परेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न, घटनाको अनुसन्धान गर्न र सापकोटालाई पक्राउ गर्न माग गर्दै रिट हालेका हुन् । उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको छ ।

सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ ।

माइतीघर मण्डलामा विरोध प्रदर्शन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख पदका लागि उम्मेदवार बनाएका अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

‘नागरिक खबरदारी’ नाम दिइएको उक्त विरोध प्रदर्शनमा सहभागीहरुले हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउन माग गरेका छन्। सापकोटालाई सभामुख बनाउँदा पीडितहरुको थप अपमान हुने उनीहरुको भनाइ छ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ। तत्कालीन माओवादीको अपहरणमा परेका लामा मृत अवस्थामा फेला परेका थिए।

आफ्ना श्रीमानको हत्यामा संलग्न भएको भन्दै लामाकी श्रीमती पूर्णिमायाले सापकोटाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा उनलाई गिरफ्तार गरी अनुसन्धान गर्न मागसहित अर्को रिट दायर गरेका छन्।

‘सापकोटामाथि कुनै मुद्दा छैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको दाबी गरेका छन् । शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् ।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन । सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको छ । उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नुको कुनै औचित्य छैन ।’

गृह जिल्ला चितवन केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको भन्दै उनले प्रश्न गरे, ‘यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।’ प्रहरी प्रमुख को आउछ भन्ने कुरा सरकारले नै भन्ने उनको भनाइ थियो ।

सापकोटालाई सभामुख बनाउँदा राजीनामा

हत्या आरोपित अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्बोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर आफूले राजीनामा दिएको बताएका छन् । प्याकुरेलले पछिल्लो समय सापकोटालाई सभामुख चयन गर्ने नेकपाको निर्णयप्रति आपत्ति जनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्