राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा, ६ राजनीतिक दल प्रतिष्पर्धामा
काठमाडौं , माघ ८ । माघ ९ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गर्न मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेको आयोगले जनाएको छ ।
निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत,सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित खटिई मतदान केन्द्रको निर्माण कार्य समेत सपन्न भइसकेको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा पुस १५ गते देखि स्थापना गरी सञ्चालन भएको, सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लाका सातजना जिल्ला न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा निर्वाचन अधिकृतको पदमा गत पुस ११ गतेदेखि नियुक्त गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्यततर्फ ९३ र स्थानीय तह सदस्यतर्पm २८४ गरी ३६७ जना मतदाता रहेका छन् । प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तह सदस्यतर्पm २७२ गरी ३७९ जना मतदाता रहेका छन् । बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्पm ६० र स्थानीय तह सदस्यतर्फ १७० गरी २३० जना मतदाता रहेका छन् । प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ ।
यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २१८ गरी ३०५ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यततर्फ ४० र स्थानीय तह सदस्यतर्फ १५८ गरी १९८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १७६ गरी २२९ जना मतदाता रहेका छन् ।
यसरी सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तह सदस्यतर्पm १,५०६ गरी कूल २,०५६ जना मतदाता रहेका छन् ।
६ राजनीतिक दल प्रतिष्पर्धामा
यसैबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा ६,२६० थान मतपत्र छपाइ गरी राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने प्रदेशगत समूह र मतदाता संख्याको आधारमा सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पठाई सकिएको छ ।
मतदानका लागि परिचयपत्र अनिवार्य गरेको छ भने निर्वाचनका लागि सुरक्षा प्रबन्ध प्रभावकारी बनाएको आयोगले जनाएको छ । माघ ९ गते बिहीबार बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान हुने छ ।














प्रतिक्रिया दिनुहोस्