अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का
काठमाडौं , माघ ८ । सरकारले तोकेको समयमा उखु किसानलाई बक्यौता रकम न दिने दुई चिनी मिलको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो।
मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोकका गर्न पत्राचार गरिएको हो।
उनकाअनुसार उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ ।
सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेको थियो । तर माघ ७ को भाका कट्दासम्म ३ करोड ९० लाख रुपैयाँ मात्र किसानलाई दिइएको छ । अझै ४२ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।
यस्तै नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ । किसानको रकम भुक्तानी गर्न आग्रह गर्दा परिवार उद्योग सञ्चालकको परिवार सम्पर्कमा नआएकाले बैंक खाता रोक्का गर्नु परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाद र बाबा बैजुनाथ चिनी मिलले पनि किसानको रकम दिन बाँकी छ । तर मन्त्रालयको सम्पर्कमा आएका चिल सञ्चालकहरुले रकम दिने प्रक्रियामा रहेको बताएका छन् ।
यस्तै दुवै उद्योगमाथि राजस्व सम्बन्धी अनुसन्धान गर्न राजस्व विभागलाई समेत पत्राचार गरिएको छ।














प्रतिक्रिया दिनुहोस्