मनकारी युवा व्यवसायी अग्रवालको १० रुपैयाँमै खाना खुवाउने अभियान

शुसील घिमिरे:

काठमाडौँ । बजारलाई सरकारले नियन्त्रण गर्न नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । महंगीले मानिस आक्रान्त छन् । महंगीले अस्तव्यस्त भएको हाम्रो बजारमा १० रुपैंयाँमा खाना पाइन्छ भन्दा मानिसलाई अनौठो र सपना जस्तो लाग्न सक्छ । तर, यो सपनालाई झापा बिर्तामोडका मनोज अग्रवालले विपना बनाई दिनुभएकोछ १० रुपैंयाँमा खाना खुवाएर । अग्रवाल मनकारी र प्रतिष्ठित युवा व्यवसायी हुन् ।

आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएका छन् उहाँले । उहाँले खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन् । खानामा भात, दाल तरकारी (सुद्ध साकाहारी) भोजनको प्रबन्ध मिलाईएको अग्रवालले बताउनुभयो । १० रुपैंयाँमै पेटभरि खान पाएपछि मानिसको भीड लाग्न थालेको छ, उहाँको भोजनालयमा । बितमोडका युवाहरुले बिहीबारबाट १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खाना खुवाउने अभियान शुरु गरेसँगैै खाना खान आउनेको संख्यामा वृद्धि भएको हो ।
अभियानमा मात्र तीन सय भन्दा बढीले खाना खाएको बिर्तामोडका ब्यवसायी तथा अभियान सञ्चालक प्रविन अग्रवालले जानकारी दिए ।
‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ यो अभियान सञ्चालन गरिएको अग्रवाल बताउनुहन्छ । प्रविनसहित मनोज अग्रवाल, पुरुषोत्तम अग्रवालको टोलिले गत पुस १७ गतेदेखि १० रुपैयाँका खाना उपलब्ध गराउन थालेका हुन् ।

बिर्तामोडको खड्का कम्पलेक्सछेउमा उनीहरुले शुद्ध शाकाहारी खानाको व्यवस्था गरेका छन् । राज्माको तरकारीसँग मनसुली चामलको खाना खुवायौं, अभियानका अभियान्ता प्रविनले भन्नुभयो, “हामी यस अभियानलाई निरन्तरता दिनेछौं ।”
भोजनालयको उद्घाटन गत पुस १७ गते नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य बलराम कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, मारवाडी सेवा समितिका अध्यक्ष पवन केडीया, निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे ,चेम्बर अफ कर्मश बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली ,विजय डालमिया, गौरीशंकर गुप्ता, अग्रसेन भवनका अध्यक्ष हनुमान मित्तल लगायतले संयुक्त रुपमा गरेका हुन् ।
१० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिस पनि उत्साहित भएर आउन थालेको अर्का अभियान्ता पुरुषोतम अग्रवालले बताउनुभयो ।

मानवीय सेवा गर्ने र पुण्य कर्मको उद्देश्य राखेर १० रुपैयाँमै खाना खुवाउने काम सुरु गरिएको अग्रवाल बताउनुहुन्छ । सस्तोमा खाना खुवाउने अभियान सुरू गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खान आएका छन् उनले भने, कसैले आफूहरुको अभियानमा साथ दिन खोजे सहयोग गर्नेछन् ।
हुनेखाने परिवारका व्यक्तिहरु खाना खान राम्रा–राम्रा होटल जाने गरेको तर गरिब, विपन्न र भोका मानिसहरु भोकभोकै बस्नु पर्ने विडम्बना अझै पनि भएको भन्दै यसका अभियन्ता अग्रवालले सस्तोमा खाना खाने ठाउँको अभावमा भोकभोकै हुन नपरोस् भनेर १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खाना उपलब्ध गराउन थालेको बताएका छन् ।

दैनिक खाना खुवाउने कार्य सञ्चालनको सुरुको दिनमा १२ देखि १५ हजार रुपैयाँ खर्च भएको र उक्त खर्च युवा व्यवसायीहरु मनोज र पुरुषोत्तम अग्रवालले ब्यहोर्दै आएको बताइएको छ ।

सबै उपस्थितले शुभकामना दिंदै युवा व्यवसायीले पुण्य कार्यको थालनी गरेको भन्दै खशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्