उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिंदै

काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा राजीनामा दिदैं छन् ।
उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेको बताइएको छ ।

यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतबार नेकपा सचिवालय बैठकअघि ओलीले बोलाएर छलफल गरेका थिए । उनले ओलीसँगको भेटमा आफ्नो गल्ती के हो भनेर प्रश्नसमेत गरेकी थिइन् । ओलीले भने पार्टीको अवस्था बुझाउँदै आफूलाई सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले जनाएको छ । त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।

संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।

यसैबीच, नेकपा सचिवालयबाट अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयपछि राजीनामा दिन बाध्य पारिएकी उपसभामुख तुम्बाहाङ्फेको व्यवस्थापनका बारेमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत छलफल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्