प्रतिनिधिसभा बैठक आज बस्दै, सभामुख निर्वाचन प्रक्रिया सुरु हुने

काठमाडौं , माघ ६ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

संघीय संसद् सचिवालयले दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक तय भएको जनाएको छ ।सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ ।प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ । गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको थियो ।

यता प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधान भएकाले तत्कालीन एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने तर्क गर्दै उनले राजीनामा नदिने बताएकी थिइन् । नेकपाले सभामुख उम्मेदवार चयन गरेसँगै शिवमायाले राजीनामा दिनुपर्ने भएको छ । यद्यपि, शिवमायाले आफ्नो राजीनामाबारे केही बताएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्