अन्नपूर्ण पदमार्गमा चार कोरियाली र तीन नेपालीको अवस्था अझै अज्ञात , उद्धारमा समस्या

काठमाडौं, माघ ५ । अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् ।

सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् ।

त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् ।
अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शकको अवस्था अझै अज्ञात रहेको छ ।

बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई हिजो(शनिवार) हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका सय भन्दा बढीलाई तीन वटा हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका(११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि सम्पर्कमा आउन सकेका छैनन् । बाक्लो हिउँको कारण उद्धारमा समस्या भएको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिनु भयो ।

यता हिमपहिरोको मात्रा ठूलो भएकाले अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएका चार कोरियाली र तीन नेपाली नागरिकको खोजीमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।पदयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा साना र ठूला हिमपहिरो जाँदा त्यसक्षेत्रमा पदयात्रा गरिरहेका कैयौँ विदेशी र नेपाली नागरिकहरू फसेका थिए।

हिमपहिरोका कारण बाटोमा फसेका ११० जनाको उद्धार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । उनले भने, “तर चार कोरियाली र तीन नेपालीको बारेमा भने खबर पाउन सकिएको छैन।““हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ। तर त्यसबारे यकिन हुन सकेको छैन।“

त्यस क्षेत्रको प्रहरी चौकीबाट खटिएका प्रहरी र अन्यले हिमपहिरोमा उनीहरू पुरिएको हुनसक्ने भएकाले खनेर निकाल्नुपर्ने सुझाव दिएको केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्