पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन

काठमाडौं , पुस २९ । संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ ।

मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि पुरानो संसद भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

‘बचाएर कतिसम्म उपयोग गर्न सक्छौं ? यसलाई यथावत राख्न सक्ने देखिँदैन’ उनले भनिन् । पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालय भवन भत्काएर नयाँ बनाउनुपर्ने पक्षमा देखिए पनि पूरातत्व विभागले नभत्काई अहिलेकै स्वरुपमा प्रबलीकरण गर्नुपर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्