२२ औँ भूकम्प सुरक्षा दिवस भक्तपुरमा, सम्पूर्ण तयारी पुरा

पुस २८, काठमाडौं । यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह विविध कार्यक्रमका साथ भक्तपुर नगरपालिकामा आयोजना गरिने भएको छ । साथै यस बर्षको नारा “भूकम्पबाट सुरक्षित पुर्वाधार, दिगो सुख र समृद्धिको आधार” तय गरिएको २२ औँ भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले जनाएको छ ।

आउँदो माघ २ गते आयोजना गरिने भूकम्प सुरक्षा दिवसको राष्ट्रिय कार्यक्रमबारे जानकारी दिन आज शहरी विकास तथा भवन निर्माण विभागमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । माघ २ गतेको मूल समारोह कार्यक्रम गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख आतिथ्यतामा दिउसो २ वजे भक्तपुर दरबार स्क्वायरमा हुने भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिनुभयो । त्यसअघि मध्यान्ह १२ बजे भक्तपुरका २ ठाउँबाट भूकम्प सुरक्षा र्याली आयोजना गरिने छ । र्याली सुरु हुनु अघि भक्तपुरको लामगाल पुखु र भाज्या पुखुमा भूकम्पीय सुरक्षा सम्बन्धी नमुना अभ्यास तथा सडक नाटकहरु आयोजना गरिने आयोजकले जनाएको छ ।

देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यन्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक बर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

पत्रकार सम्मेलनमा वोल्दै महानिर्देशक गेलालले भूकम्पीय जोखिम न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी सुरक्षित संरचना निर्माण गर्न आवश्यक हुने र दिगो, सुख तथा समृद्धि यसैमा आधारित हुने बताउनुभयो । विगत एक बर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा मुलुकले नीतिगत तथा कार्यक्रमगत तहमा उल्लेख्य प्रगति गरेको दावी गर्दै गेलालले विपद् जोखिम न्यूनीकरणमा नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र गैर सरकारी क्षेत्रबाट भएका प्रयत्नहरुको प्रसंशा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्