ए डिभिजन लिगमा पाँचौं चरणका खेल सकिए, त्रिभुवन आर्मी शीर्ष स्थानमा
काठमाण्डौ , पुस २५ । शहीद स्मारक ए डिभिजन लिगमा पाँचौँ चरणको खेलहरु सम्पन्न भएका छन् । पाँचौँ चरणमा आइपुग्दा विभागीय क्लब त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा पुग्न सफल भएको छ ।
जारी लिगमा अहिलेसम्म अपराजित रहेको आर्मीले बिहीबार फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानामा उक्लिन सफल भएको हो । पाँच खेलमध्ये आर्मीले ४ खेलमा जित हात पार्दै १२ अंक बनाएको छ । यता अपराजित रहेको मनाङले भने ११ अंक मात्रै बनाएको छ ।
मनाङले ३ खेलमा जित र २ खेलमा बराबरी गर्दै ११ अंक बनाउँदै दोस्रो स्थानमा झरेको हो । यस्तै अर्को अपराजित टिम मछिन्द्र भने १० अंकका साथ तेस्रो स्थानमा छ ।
अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेकाले एक अंक घटाउँदा तीन खेलमा जित र २ खेलमा बराबरी खेल्दा १० अंक मात्रै भएको हो ।
थ्रीस्टार क्लब १० अंकका साथ चौथो स्थानम रहँदा जावलाखेल युथ क्लबले २ खेलमा जित र तीन खेलमा बराबरी गर्दै ९ अंकका साथ पाँचौँ स्थानमा राख्न सफल भएको छ ।
नेपाल पुलिस क्लब ८ अंकसहित छैटौँ स्थानमा रहँदा संकटा सात अंकसहित सातौँ स्थानमा छ । ६ अंक जोडेका ब्रिगेड ब्वाइज क्लब आठौँ स्थानमा छ भने गत संस्करणको २ अंक घटाएको एनआरटी ५ अंकसहित नवौँ र समान ५ अंक जोडेको च्यासल दशौँ स्थानमा छ ।
यस्तै ४ अंक जोडेको एपीएफ ११ औँ स्थानमा छ भने ३ अंक जोडेको शेर्पा १२ औँ स्थानमा छ । त्यसैगरी २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औँ स्थानमा छ भने तालिकामा अंकको खाता खोल्न नसकेको सरस्वती पुछारमा रहेको छ ।
सकंटा पाँचौं चरणको जितसँगै तालिकाको सातौं स्थानमा उक्लिएको छ । अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र पुछारको फ्रेण्ड्स क्लब भिडेका थिए । जसमा आर्मीले फ्रेण्ड्समाथि १–० को साँघुरो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो । छैटौं चरणका खेलहरु अब शनिबारदेखि शुरुहुने छन् ।
प्रतिक्रिया दिनुहोस्