शहीद स्मारक ए डिभिजन लिगः मच्छिन्द्र र मनाङ मर्स्याङ्दी प्रतिष्पर्धा गर्दै
काठमाडौं, २१ पुस । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच आज कडा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा सोमबार दिउँसो ३ बजे मैदान उत्रँदा मच्छिन्द्र र मनाङ दुवै उपाधि होडसँगै प्रतिष्ठाको लडाइँमा पनि छ ।
मच्छिन्द्रले मनाङ र थ्रीस्टारबाट गरी दर्जन बढी नाम चलेका खेलाडी यस सिजन क्लब भित्राउँदै आफूलाई लिगको उपाधिको होडमा उभ्याएको छ । यस्तो अवस्थामा मनाङको प्रदर्शन कस्तो होला भन्ने कौतुहलता धेरैमा थियो । तर पनि मनाङले मनाङकै छवीको खेल पछिल्लो चार खेलमा केही हदसम्म देखाउन सफल भएको छ, कम्तीमा नतिजाको हिसाबमा हेर्दा ।
विराज, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, हेमन गुरुङ मच्छिन्द्रकै पूर्व खेलाडी दीपक राई र विशाल राई, एएफसी कप खेल्न मनाङ पुगेका अभिषेक रिजाल र देवेन्द्र तामाङ अनि विदेशी खेलाडी सोमिडे एडालेजा यस सिजन मनाङ छाडेर मच्छिन्द्र पुगेका हुन् । यीबाहेक अन्य केही खेलाडीले पनि मनाङ छाडेका छन् ।
तर लिगमा शुरुवाती चार खेल खेल्दा मनाङले ३ मा जित र १ बराबरीसहित अपराजित यात्रा कायम राखेको छ । चार खेलबाट १० अंक जोड्दै मनाङ शीर्ष स्थानमा छ ।
मनाङ जत्तिकै ३ जित र १ बराबरी गरेको मच्छिन्द्रले पनि १० अंक नै जोडेको थियो । तर गत सिजन अन्तिम दुईमा रहेर पनि रेलिगेसनमा नपरेको मच्छिन्द्रले यस सिजन शुरुमै १ अंक ऋण तिरेको छ ।
साविक विजेताको हैसियतमा रहेको मनाङ शुरुवाती खेलको नतिजाले आत्मविश्वासी बनेको छ । उता नाम चलेका खेलाडी भित्राएको मच्छिन्द्रको यस सिजन लिग उपाधि नै जित्ने लक्ष्य छ । त्यसैले यो खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
मनाङले यसअघि एपीएफलाई २(०ले तथा त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइजलाई समान १(० ले पराजित गरेको थियो । चौथो खेलमा फ्रेण्ड्ससँग १(१ को बराबरी खेलेर मनाङले अंक बाँड्यो । उता मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई २(० ले पारजित गर्दै लिग शुरु गरेको थियो । त्यसपछि च्यासल युथ क्लबसँग १(१ को बराबरी खेलेको मच्छिन्द्रले फ्रेण्ड्सलाई ३(० ले र एनआरटीलाई १(० ले पराजित गरेको थियो ।
जावलाखेल र एनआरटी पनि भिड्दै
मनाङ र मच्छिन्द्रसँगै अपराजित रहने अर्को टोली हो जावलाखेल युथ क्लब । त्यही जावलाखेलले आज १२ बजे एनआरटीसँग दशरथ रंगशालामै खेल्दैछ । चारमध्ये २ खेलमा जित र २ बराबरी नतिजा निकालेको जावलाखेल ८ अंकसहित चौथो स्थानमा छ । आज पहिलो खेल भएकाले एनआरटीलाई पराजित गर्न सके जावलाखेल केही घण्टाको लागि भए पनि शीर्ष स्थानमा उक्लनेछ ।
उता गत सिजन अन्तिम स्थानमा रहेको एनआरटीले यस सिजन २ अंक गुमाएको छ । लिगको पहिलो खेलमै सरस्वती युथ क्लबलाई ४(० ले पराजित गर्दै शानदार शुरुवात गरेको एनआरटीले संकटा र मच्छिन्द्रसँग हार ब्यहोरेको थियो । तर च्यासल युथ क्लबलाई पराजित गरेको थियो ।
पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १(० ले पराजित गरेको थियो । तेस्रो खेलमा संकटासँग बराबरी खेलेको जावलाखेलले चौथो खेलमा बलियो मानिएको च्यासल युथ क्लबलाई २(० ले पराजित गर्याे ।
प्रतिक्रिया दिनुहोस्