कामना सेवाविकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं , पुस १७ । कामना सेवाविकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयरधनीहरुका लागि यस वर्ष ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ । बिहीवार १३ औं वार्षिक साधारण सभा मार्फत प्रस्तावित उक्त लाभांश पारित गरेसँगै वितरणको बाटो खुलेको हो ।

गत वर्ष १ दशमलव ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष नगद मात्र दिने भएको छ । आर्थिक वर्ष २०७५र ७६ को अन्त्यसम्म कम्पनीले रू.८३ करोड ५१ लाख लगानी गरेको थियो ।

जसमा नेपाल सरकारको ऋणपत्रमा रू.२३ करोड ३ लाख र अन्य संगठित संस्थाको शेयरमा रू.६० करोड ४८ लाख लगानी रहेको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । हाल कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ५४ करोड १ लाख ९५ हजार छ ।


यसैबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले एक वर्षको अवधिमा ३६ ओटा नयाँ शाखा थप गरी ९४ ओटा शाखा कायम गर्न सफल भएको बताए ।

शाखा सञ्जाल विस्तार, प्रविधिको स्तरोन्नती जस्ता दिर्घकालिन रणनितिक लगानीको वावजुद पनि ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिन सक्षम भएको उनको भनाइ छ ।


यस्ता रणनितिक लगानीबाट भविश्यमा अझ दिगो प्रतिफल आर्जन गरी सबल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित हुनेमा विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिएका छन् । यता शेयरधनीहरुले व्यवसाय विस्तारमा आक्रामक देखिएको उक्त कम्पनीले लाभांश बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

आगामी वर्षदेखि नगद र बोनस शेयर बराबर हुने गरी लाभांश दिने योजना बनाई व्यवसाय विस्तारमा जोड दिन शेयरधनीहरुले आग्रह गरेका छन् । साथै उनीहरुले मर्जर तथा प्राप्तीको विषयलाई पनि अघि सारेको भन्दै राम्रो कम्पनीहरु छान्न समेते सुझाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्