प्रेस युनियनका पूर्व उपाध्यक्ष याम प्रधानको निधन
काठमाडौं, १७ पुस । राष्ट्रिय समाचार समिति इटहरीका समाचारदाता तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष याम प्रधानको निधन भएको छ । मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका ५३ वर्षीय प्रधानको बिहीबार बिहान आफ्नै निवास इटहरीमा निधन भएको हो ।
सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिने उनी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत थिए । प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए ।
प्रधानले लामो समयदेखि घरमै उपचार गराइरहेका थिए । उनको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गर्दै प्रधानप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकमा परेकी उनकी श्रीमती, छोरीसहित प्रधान परिवारमा समवेदना व्यक्त गरेका छन् ।
पत्रकार महासङ्घ सुनसरी शाखाका अनुसार बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिने जनाइएको छ ।
प्रेस युनियनको शोक विज्ञप्ति
मितिः २०७६ पुस १७
शोक विज्ञप्ती
नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार याम प्रधानको निधन भएको छ। प्रधानको २०७६ पुस १७ गते बिहिवार बिहान ३।३० बजे ५३ बर्षको उमेरमा निधन भएको हो।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व सभापति समेत रहनुभएका प्रधान पूर्व क्षेत्रमा चिनिएको नाम हो। लामो समयदेखी बिभिन्न स्वास्थ्य समस्याबाट पिडित प्रधानको बिहिवार इटहरी ९ भोजपुरे टोलमा रहेको आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय प्रधानका श्रीमती र छोरी रहेका छन्क्ष्
यस दुखद घडीमा नेपाल प्रेस युनियन सुनसरी स्वर्गीय अग्रज पत्रकार प्रधानप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएकी उहाँकी श्रीमती, छोरी सहित प्रधान परिवारमा समवेदना व्यक्त गर्दछ।
अजयबाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन














प्रतिक्रिया दिनुहोस्