माघे सङ्क्रान्ति मनाउँदै मगर समुदायले मागे छुट्टै मगरात राज्य

काठमाडौं । मगर समुदायको राष्ट्रिय चाड माघे सङ्क्रान्ति हर्ष उल्लासका साथ सम्पन्न भएको छ । सोमबार (माघे सङ्क्रान्ति) का दिन भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम–२०७४’ कार्यक्रममा विभिन्न विशिष्ट व्यत्तित्वहरुको उपस्थिति सहित, साँस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, माननीय सांसदहरुलाई सम्मान गर्दै यस पटकको मगर समुदायको माघे सङ्क्रान्ति पर्व सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मगर समुदायको बाहुल्यता भएका प्रदेशहरुमा छुट्टै मगरात राज्यको स्थापना गर्न राज्यसंग माग गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै उप–राष्ट्रपति नन्द किशोर पुनले स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजानको कुरामा जोडदिँदै उनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि चिर्दै राजनीतिक दलहरु ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा व्यक्त गरे ।
उप–राष्ट्रपति पुनले नेपालका आदिवासी जनजाति भित्रै रहको मगर समुदाय पनि आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उल्लेख गरे । उनले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुन सक्ने बताए ।
उनले भने, ‘सुन्दर प्रकृति र माघे सङ्क्रान्तिलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ । यो हाम्रा लागि निकै नै गौरवको कुरा हो ।’ मगर समुदायको इतिहास निकै नै गौरवपूर्ण रहेको उल्लेख गर्दै उनले राष्ट्रको निर्माणका साथै मुलुकको हरेक राजनीतिक परिवर्तनमा मगर समुदायले उल्लेखनिय योगदान रहेको समेत चर्चा गरे ।
कार्यक्रममा पूर्व अर्थ मन्त्री तथा सांसद वर्षमान पुन (अनन्त), पूर्व सभामुख ओन्सरी घर्तीमगर, सांसदहरु दल बहादुर राना मगर, कमला रोका मगर, पूर्व मन्त्री उत्तम पुन लगायत आदिवासी जनजातीका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
नेपाल मगरसंघका अध्यक्ष नवीन रोकामगर सभापतित्वमा भएको उक्त कार्यक्रममा संघ उपाध्यक्ष गंगा मगर, महासचिव ज्ञानेन्द्र पुन मगर, सचिव जगत बहादुर रेश्मी मगर, संघका सल्लाहकार वमकुमारी मगर लगायतले संघीय राज्यमा निर्माण गर्दा छुट्टै मगरात राज्यको स्थापना गर्नु पर्ने कुरामा जोड दिए ।

(यसरी मनाए मगर समुदायले माघे संक्रान्ति, फोटो फिचर सहित)

तस्बिरः मनोज नेपाल

प्रतिक्रिया दिनुहोस्