ए डिभिजन लिगमा आर्मीले हात पार्यो दोस्रो जित

काठमाडौं, पुस ११ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम आर्मीले दोस्रो जित हात पारेको छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो।
आर्मीको जितमा कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।

यो जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ। आर्मीले ३ खेलबाट २ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको हो।

खेलको ५७औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई १–० गोलको अग्रता दिलाए। खेलको ६१औं मिनेटमा आर्मीले दोस्रो गोल गर्न सफल भयो। आर्मीका लागि टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई २–० गोलको जित दिलाए।

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ। उसको ३ खेलमा शतप्रतिशत जितसहित ९ अंक छ। लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको पनि ३ खेलबाट ६ अंक छ।

प्रतिक्रिया दिनुहोस्