हिमालयन बैंकले दुई करोड ८३ हजार ४६० कित्ता एफपिओ निष्काशन गर्ने

काठमाडौं, ९ पौष । हिमालयन बैंकले दुई करोड ८३ हजार ४६० कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले सर्वसाधारण तर्फको शेयर स्वामित्व ३० प्रतिशत पुर्याउन एफपिओ निष्काशन गर्ने भएको हो ।

पूँजी बढाउने सिलसिलामा नेपाल राष्ट्र बैंकले सर्वसाधारण तर्फको शेयर हिस्सा ३० प्रतिशत पुर्याउन बैंकलाई एफपिओ निष्काशन गर्न सुझाएको हो । हाल बैंकको संस्थापक तर्फको शेयर स्वामित्व ८५ प्रतिशत र सर्वसाधारण तर्फको १५ प्रतिशत छ ।

सर्वसाधारण तर्फ थप १५ प्रतिशत शेयर स्वामित्व पुर्याउन बैंकलाई थप दुई अर्ब ८३ लाख ४६ हजार १९ रुपैयाँको पूँजी आवश्यक पर्छ । यसका लागि बैंकले थप प्रिमियमसहित एफपिओ निष्काशन गर्न सक्ने राष्ट्र बैंकले जनाएको हो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । बोनस शेयर वितरण गर्ने घोषणा गरे पनि साधारण सभा हुन भने बाँकाी छ । बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२४ रुपैयाँ हुन्छ। जसमा सर्वसाधारणको शेयर १ अर्ब ४० करोड ५८ लाख ४२ हजार २१४ बराबरको हुनेछ ।

यहि पुँजीलाई आधार मानेर बैंकले सर्वसाधारण तर्फको शेयर हिस्सा ३० प्रतिशत पुर्याउन एफपिओ निष्काशन गर्न सक्नेछ । एफपिओपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ३८ करोड ६ लाख २७ हजार ४४३ पुग्नेछ। एफपिओपछि हिमालयनमा सर्वसाधारणको शेयर ३ अर्ब ४१ करोड ४१ लाख ८८ हजार २३३ रुपैयाँ बराबरको हुनेछ भने संस्थापकतर्फको ७ अर्ब ९६ करोड ६४ लाख ३९ हजार २१० रुपैयाँको शेयर स्वामित्व अहिलेको ८५ प्रतिशतबाट ७० प्रतिशतमा झर्नेछ ।

हाल बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड रुपैयाँ छ । उक्त एफपिओ थप प्रिमियमा निष्काशन गरे बैंकको अहिलेको जगेडा कोष दोब्बर हुनेछ।

बैंकमा अहिले हाल हबिब बैंकको २० प्रतिशत, कर्मचारी सञ्चय कोषको १४ प्रतिशत, एन ट्रेडिङको १२।७१ प्रतिशत, म्युचुअल ट्रेडिङको ११।८५ प्रतिशत, आभा इन्टरनेशनलको ११।३८ प्रतिशत, छायाँ इन्टरनेशनलको ८।८९ प्रतिशत, शशिकान्त अग्रवालको २।६५ प्रतिशत शेयर छ। एफपिओ निष्काशन सँगै उनीहरुको शेयर हिस्सा घट्ने छ।

प्रतिक्रिया दिनुहोस्