कुमारी बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, ६ पौष । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी सो बराबरको ऋणपत्र निष्काशनमा ल्याउने भएको हो ।

तीन अर्ब मध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन माध्यमबाट बिक्री हुनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आबेदन दिन सकिने बैंकले जनाएकोछ ।

ऋणपत्रलाई इक्रा नेपालले ‘इक्राएनपी एलबिबिबि प्लस’ रेटिङ्ग प्रदान गरेको छ । ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको लागि आवेदन गर्न पाउनेछन । नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पछि सबैजसो बैंकहरु ऋणपत्र निष्काशन प्रकृयामा छन् ।

प्रतिक्रिया दिनुहोस्