आज माघे सङ्क्रान्ति पर्व, देशब्यापी मनाईंदै,राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले यस्तो दिए शुभकामना

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।

साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गर्छ ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

उत्तरायणमा पनि माघ र वैशाख महिना उत्तम मानिएको उनले बताए । माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय कर्म गर्नका लागि मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, ब्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

यसवर्ष शुक्र अस्त भएकाले माघे संक्रान्ति मनाउनु हुन्न भन्ने हल्ला गलत रहेको समितिले जनाएको छ । यो पर्व नित्य कर्म भएकाले शास्त्रीयरुपमै मनाउन सकिने अध्यक्ष गौतमले बताए ।

गत मंसिर २९ गते पूर्वमा अस्ताएको शुक्र माघ १८ गते पश्चिमबाट उदाउने समितिले जनाएको छ ।

थारु समुदायको नयाँबर्ष माघी पर्व

थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् ।

यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी पर्वको अध्ययन अनुसन्धानमा लागेका कृष्णराज सर्वहारीले जानकारी दिए ।

“आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारु समुदायमा छ”–उनले भने । विसं २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा पनि छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ ।

गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन् । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको प्रारम्भ हुनु अघिदेखि नै थारु समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो । २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा पनि थारु बाहुल्य भएका ठाउँ जनप्रतिनिधिविहीन नभएको अध्येता सर्वहारीले बताए । थारु समुदायले वर्षभरी गरेका कामको समीक्षा आजैका दिन गर्छन् ।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारु समुदायमा छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट माघे शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गरेका छन् । साथै, उनले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयनमार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गरेका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ”–प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्