माघे संक्रान्ती पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्यो

काठमाडौं । माघे संक्रान्ती पर्व नजिकिएसँगै बजारमा चहलपहल बढेको छ ।स्थानीय बजारहरूमा माघे संक्रान्तिका लागि आवश्यक पर्ने सरसामान किन्नेहरुको चहल पहल बढेको हो ।

संक्रान्ति नजिकिएसँगै जिल्लाको ईटहरी, धरानको सब्जी मन्डी, अमान बजार परिसर लौकीही, ईनरुवा, हरिवन, भरौल, चतरा, प्रकाशपुर, हरिपुर जस्ता स्थानमा मुख्य बजार र ग्रामीण भेगका हाट बजारमा सरसामान किन्नेको भीड बढेको छ ।

माघ संक्रान्तिको तीन, चार दिन अगाडी देखि नै बजारमा तिल, सख्खर, भुजा, तरुल, चिउरा जस्ता खाद्य वस्तुको व्यापार ह्वातै बढेको धरान सब्जी मन्डीका तरकारी व्यवसायी गरिबी शाहको भनाई छ ।

स्थानीय भाषमा तिला सकराईत अर्थात् माघ सक्रान्ती पर्वमा यी परिकारका बिक्री वितरण अत्यधिक हुने गरेकाले बजारमा भिड लागेको उनको भनाई छ । अन्य बेलाको तुलनामा यो सिजनमा राम्रै व्यापार हुने गर्दछ ।

उता कैलाली र कञ्चनपुर जिल्लामा पनि माघे संक्रान्तिको चहलपहल निकै नै बढेको छ । माघ १ गते मनाइने माघ संक्रान्तिमा यस्ता वस्तुबाट विभिन्न परिकार बनाएर खाने प्रचलन सर्वसाधारण नेपालीहरूमा रहेको छ ।

विशेष गरी मधेसी मूलका व्यक्तिहरूले तल तथा सक्खर जन्य बस्तुको अत्यधिक मात्रामा प्रयोग गर्ने गर्दछन् ।
उता ताप्लेजुङमा विभिन्न किसिमका तरुलको व्यापार बढेको छ ।

माघ संक्रान्तिलाई लक्षित गर्दै सदरमुकाम फुङ्लिङको तोक्मे हटियो, दोभान र सवा लगायतका बजारहरूमा तरुलको व्यापार बढेको हो ।जाडोमा स्वास्थ्यलाई समेत फाइदा पुग्ने र माघ संक्रन्तिमा तरुल खानै पर्ने मान्यताले पनि यसको बिक्री वितरण बढेको व्यापारीहरूले बताएका छन् ।

माघ संक्रान्तिलाई लक्षित गर्दै बजारमा यति बेला घरतरु, बनतरुल, सिमलतरुल, ईस्कुसे तरुल लगायतका तरुलका प्रकारहरू पाइने गरेको स्थानीय व्यापारी तुलसी गौतमले बताए ।

अहिले ताप्लेजुङ सदरमुकाममा घरतरुल प्रतिकिलो ८० रुपैयाँ, बन तरुल १५० रुपैयाँमा कारोबार भइरहेको व्यापारीहरूको भनाई छ । गाउँबाटै खनेर ल्याएको ताजा तरुल सदरमुकामका चोक र अन्य पसलमा समेत बेच्न राखिएको छ ।

तरुललाई पुसमा पकाएर माघ मा खाने परम्पराले पनि पुसको अन्त्यमा तरुलको कारोबार बढी हुने गरेको बताइएको छ । घरका सबै परिवार एकै ठाउँमा बसेर उसिनेको तरुल र तरुलका विभिन्न परिकार खाएर ताप्लेजुङमा माघ संक्रान्ति मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्