जाडो छल्न बालेको आगो सल्किदा सप्तरीमा एक दर्जन घर नष्ट, चार जना घाइते

काठमाडौं । शितलहरले जनजीवन अत्यन्तै कष्टकर रहेको सप्तरीमा पछिल्लो समयमा शरीर न्यानो पार्न बालिएको आगोमा जलेर लाखौंको धनमाल क्षति भएको छ । चार दिन यता जिल्लाका तीन ठाउँमा भएको आगलागीबाट एक दर्जन घर जलेर खरानी भएका छन् । आगो ताप्दा जलेर चार जना घाइते समेत भएका छन् ।

पछिल्लो पटक रुपनी गाउँपालिका १ मा भएको आगलागीबाट तीन दाजुभाइको ६ वटा घर जलेको छ । शुक्रबार राति भएको आगलागीबाट स्थानीय राजो यादव, रामनारायण यादव र रामविलास यादवको घर जलेको छ । उनीहरुको दुई , दुई वटा घर जलेको हो ।

गोठमा बालिएको घुरबाट राति १२ बजेतिर अचानक आगलागी भएको हो । आगलागीले राजोले घरमा राखेको नगद ७५ हजार रुपैयाँ समेत जलेको छ । आगलागीले ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडितको भनाइ छ । आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानीयहरुले निभाएका थिए ।

शुक्रबार राति नै बेल्ही चपेना गाउँपालिका ३ नर्घोमा समेत आगलागी भएको छ । आगलागीबाट एक घर र एक गोठ जलेको छ ।

प्रतिक्रिया दिनुहोस्