सागका पदक विजेता खेलाडीलाई शहर परिक्रमा

काठमाडौं, २७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिंदै छ ।

पदक जितेर देशको गौरब बढाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गरी शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । परिषद् यसको तयारीमा जुटेको छ ।

परिषद्का अनुसार, बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु गरिएको हो । जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट सुरु हुने नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । परिषद्का अनुसार, खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपको ा प्रांगणमा आएर समापन हुनेछ ।

परिषद्ले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह समेत गरेको छ ।

१३ औं साग गत डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो । विजेता खेलाडीको सम्मानमा नगद पुरस्कार घोषणा गरिसकेको सरकारले आज नागरिक अभिनन्दनसमेत गर्न लागेको हो ।
नगरपरिक्रमा गर्दा सवारी भने प्रभावित नहुने भएको छ । उपत्यका निस्किने विभिन्न जुलुस र प्रदर्शनका कारण सवारी आवागमन प्रभावित हुने गरेका छन् । तर खेलाडीलाई गराउन लागिएको नागरिक अभिनन्दनका क्रममा उपत्यकाको सवारी आवागमन प्रभावित नहुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सवारी आवागमन सहज पार्न सडकमा राखिएका डिभाइर हटाइसकिएको छ । सडकको साइडबाट खेलाडीलाई नगर परिक्रमा गराउने कार्यक्रम राखिएकाले सवारी आवागमनमा कुनै असर पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्