वृद्धाआश्रम निर्माणका लागि धमलाद्वयले गरे जग्गा दान

काठमाडौं । जेष्ठ नागरिकको दिवा आश्रम भवन तथा दुग्ध संकलन केन्द्र निर्माणको लागि अब जग्गा अभाब नहुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ११ ज्यामरुङ छिपिगाउँ निवासी धन कुमारी धमला र देवि प्रसाद धमलाले जेष्ठ नागरिक दिवा आश्रम तथा दुग्ध संकलनका लागि ४/४ आना जग्गा निःशुल्क रुपमा वडा कार्यालयलाई दान गर्नुभएपछि त्यसको अत्य भएको हो । वडाले सोही जग्गामा भवन निर्माण गरेपश्चात जेष्ठ नागरिकलाई आश्रम र किसानहरुलाई दुग्ध संकलनको लागि सहज हुनेछ ।

वडाका जेष्ठ नागरिकहरु एक ठाउँमा भेला भई सुख दुःखका कुराकानी, भजन गाउने तथा दिन बिताउने कुनै पनि सार्वजनिक थलो थिएन । अब धमलाद्वयले दिएको ८ आना जग्गामा भवन निर्माण पछि त्यसको अन्त्य हुनेछ । सो जग्गामा शिव मन्दिर समेत निर्माण गर्ने योजना भएको स्थानीयले जनाएको छ ।

जेष्ठ नागरिकलाई दिन बिताउने थलोको अभावका साथै किसानहरुले दुध बिक्री बितरण गर्न सहज होस् भनी उक्त ८ आना जग्गा वडा कार्यालयका लागि निःशुल्क जग्गा दान गरिएको दाता
धन कुमारी धमलाले बताउनुभयो । उहाँले भन्नुभयो, “मरेर कसैले केहि नलाने र आफुले दान गरेको जग्गामा वृद्धाआश्रम निर्माण हुँदा सबैले जम्मा भएर कुराकानी गर्ने साझा थलो हुन्छ । किसानले उत्पादन गरेको दुग्ध पनि भण्डार हुन्छ, त्यसबाट किसानलाई पनि राहत हुन्छ ।” यसलाई समयमै उपयोग गर्न वडाले कदम चाल्नु पर्नेमा उहाँले जोडदिनु भयो ।

नीलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तिलक थापा मगरले जेष्ठ नागरिक भवन निर्माण र दुग्ध संकलन केन्द्रको लागि जग्गा दान गर्नुभई धमलाद्वयले पुण्य कार्य गर्नु भएको बताउनुभयो । उहाँले भन्नु भयो, “बृद्धाआश्रम निर्माण र दुग्ध संकलन केन्द्रको लागि जग्गा उपलब्ध भएको छ । ११ वडा कार्यालयको नाममा जेष्ठ नागरिक भवन निर्माण र दुग्ध संकलन केन्द्र बन्दा ज्यामरुङ्गबासीलाई ठूलो राहत हुन्छ ।” उक्त कार्यको लागि वडाले ५ लाख बजेट विनियोजन पनि गरिसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाले मुख्य सडकमै पर्ने करिब १६ लाख मुल्य बराबरको ४/४ आना जग्गा दान गर्नुभएकोमा आफुलगायत गाउँबासी पनि हर्षित भएको बताउनुभयो ।

सामाजिक तथा धार्मिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका जग्गादाताहरु अहिले नीलकण्ठ नगरपालिका वडा नं. ११ मै उत्कृष्ठ काम गरि सामाजिक रुपमा प्रतिष्ठत बन्नु भएको छ । यस्ता सामाजिक कार्यले अरुलाई पनि सामाजिक काम गर्न थप प्रेरणा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्