१३ औं साग : नेपाल २९ स्वर्ण सहित अग्रस्थानमा

काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हालसम्म २९ स्वर्णसहित कूल ६२ पदक जित्दै पदक तालिकाको अग्रस्थानमा रहन सफल भएको छ ।


नेपालले २९ स्वर्ण, १४ रजत र १८ कांस्यसहित ६२ पदक प्राप्त गरेको हो । पदक तालिकाको दोस्रो नम्बरमा भारत रहेको छ । भारतले २३ स्वर्ण, १९ रजत र ११ कांस्यसहित कूल ५३ पदक हात पारेको छ । तेस्रो नम्बरमा रहेको पाकिस्तानले हालसम्म ८ स्वर्ण, १४ रजत र १३ कांस्य सहित कूल ३५ पदक जितेको छ ।

पदक तालिकाको चौथों नम्बरमा श्रीलंका रहेको छ। श्रीलंकाले हालसम्म ६ स्वर्ण, १७ रजत र ३२ कांस्यसहित कूल ५५ पदक हात पारेको छ । पाँचौं नम्बरमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित कूल ३५ पदक हात पार्न सफल भएको छ ।

पदक तालिकाको छैठौँ नम्बरमा रहेको माल्दिभ्सले १ स्वर्ण र २ कांस्य सहित कूल ३ पदक जितेको छ । पदक तालिकाको अन्तमा रहेको भुटानले हालसम्म स्वर्ण र रजत पदक जित्न सकेकोक छैन । भुटानले ३ कांस्य पदक हात पारेको छ ।

बुधबार नेपालको लागि तेक्वान्दोमा सक्षक कार्कीले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् । उनले ८७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । नेपालको लागि तेक्वान्दोमा सङ्गीता बस्यालले बुधबार नै स्वर्ण पदक जितेकी छन्। उनले ६२ केजी तौल समूहमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस्तै, अनुपमा मगरले करातेको कुमुतेमा बुधबार नै स्वर्ण पदक जितिन् ।

बुधबारबाट सुरु भएको साइक्लिङमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जितेको छ । डाउन हिल १ किलोमिटरअन्तर्गत पुरुषतर्फ स्वर्ण, रजत र कांस्य तथा महिलातर्फ नेपाली खेलाडीले स्वर्ण र रजत पदक जितेका हुन् ।

गोकर्ण्स्थित सहिद पार्कमा भएको साइक्लिङअन्तर्गत डाउन हिल १ किलोमिटर पुरुषमा राजेश मगरले १ मिनेट ४९ सेकेन्डमा निर्धा्रित दूरी तय गर्दै स्वर्ण पदकमा कब्जा जमाउँदा १ मिनेट ५० सेकेन्डको टाइमिङका साथ निरभ श्रेष्ठले रजत पदक जिते । कांस्य पदक जितेका प्रचित थापामगरले १ मिनेट ५१ सेकेन्डको टाइमिङ कायम गरेका थिए । यस्तै, महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जित्दा जमुना थापाले रजत पदक जितेकी थिइन् ।

सागअन्तर्गत उसुको थाउलोतर्फ नेपालका दीपक हमालले बुधबार स्वर्ण पदक जितेका छन् । दीपकले भारतीय खेलाडी साजन लामालाई ०.२० अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । साग अन्तर्गत बुधबार भएको नेपाली महिला खोखो टोलीले रजत पदक जितेको छ । खोखोमा नेपाली महिला टोली भारतसँग पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्