राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भए २१ वटा दल

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा भाग लिन जम्मा २१ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ता नगराउने दलहरूले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छैनन् । आयोगले १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेकोमा शुक्रबार अन्तिम दिन अवधि तोकिएको थियो । निवेदन दिएका दलहरूको छानबिन गरी आयोगले निर्वाचनमा भाग लिन पाउने दलहरूको अन्तिम सूची प्रकाशन गर्नेछ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दल दर्ताका लागि निवेदन दिएका राजनीतिक दलहरूमा नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) छन् ।
यसैगरी विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले पनि दल दर्ताका लागि निवेदन दिएका छन् ।
नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी सङ्घीय संसद् निर्माण गर्ने कार्यलाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्