सागका लागि सुरक्षा व्यवस्था कडा, १८ हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौँ , मंसिर १३ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार पारिएको छ ।

आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि साग खेलको लागि आउने विदेशी पाहुना र खेलाडीको बसोबासदेखि आवश्यक सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।

खेल मैदानमा हुनसक्ने सम्भावित हुलदङ्गाका साथै होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ । पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन् ।

राखेपका अनुसार साग खेल ३० ठाउँमा खेलाइनेछ । जसमध्ये काठमाडौंमा १२, ललितपुरमा ९, पोखरामा ८ र जनकपुरमा १ ठाउँमा गरेर ३० ठाउँमा सञ्चालन हुनेछ ।

साग खेलमा अफिसियल, प्रशिक्षक र निर्णायकहरु गरेर ५५ सयभन्दा बढी उपस्थित हुनेछन् । यस्तै विदेशी पाहुनाहरुको लागि मध्यनजर गर्दै काठमाडौँका ३१, ललितपुरका १२, जनकपुरका ३ र पोखराका ४३ होटल समेत बुकिङ गरिएको छ ।

प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे ।

१३औं सागको सम्पूर्ण तयारी पूरा राखेपले बिहीबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेको छ ।

सागको उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ । दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्