सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने, नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं, मंसिर १२ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रतियोगिताको उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी गराएका हुन्।

मंसिर १५ गते (आइतबार) साँझ ५ बजे सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिए।


उद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने समेत उनले बताए। कार्यक्रममा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने प्रस्तुतिहरु प्रस्तुत गर्ने छन्। मन्त्री विश्वकर्माले सागको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले सागको व्यवस्थापन र खेलकुद सञ्चालनसम्बन्धी सबै तयारी पूरा भएको बताए।

यसैबीच १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलमा भारत नआउने भएपछि खेल तालिका परिवर्तन भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार अब मंसिर १६ गतेदेखि पुरुष फुटबल खेल सुरु हुनेछ। यसअघि तय भएको खेल तालिका अनुसार नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्ने थियो। तर भारत नआउने भएसँगै ५ राष्ट्रको मात्रै सहभागिता हुने भएपछि राउण्ड रोविनमा खेल हुन लागेको हो।

अब पुरुष फुटबलको पहिलो खेलमा मंसिर १६ गते बंगलादेशले भुटानसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। यहि दिन बेलुकी ५ बजे माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ।

नेपालको खेल भने मंसिर १७ गते दिउँसो १ बजे भुटानसँग हुनेछ। त्यस्तै, नेपालले १८ मा श्रीलंका र २० गते माल्दिभ्ससँग खेल्नेछ। त्यस्तै, नेपालले २२ गते राउण्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

अंक तालिकाको शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्