पहिलो पटक साउदी महिला फुटबल हेर्न रंगशालामा, प्रतिबन्ध फुकुवा

एजेन्सी । परम्परावादी मुलुक साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा (प्यारापिट) मा बस्न दिएको छ ।

महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिइएको हो ।

जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित आएका थिए ।

उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो । स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए ।

साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ ।

यो महिना समग्रमा तीन खेलमा महिलालाई रंगशालमा गएर हेर्ने दिइने छ ।

यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ । आउँदो जुन महिनादेखि महिलाले गाडी चलाउन थाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्