मेडिकल क्षेत्रलाई माफिया मुक्त गरौं, विद्यार्थीहरूले आन्दोलन गर्नै नपरोस्ः उपराष्ट्रपति पुन
काठमाडौं , मंसिर ७। उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने बताएका छन् । शनिबार राजधानीमा ‘प्रथम इमजेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
मेडिकल माफियाविरुद्ध विद्यार्थीहरूले पटक पटक आन्दोलन गर्नुेपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आधारभूत नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन राज्यले जनस्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले भने, ‘सुविधा सम्पन्न सरकारी अस्पताल नागरिकलाई प्रभावकारी सेवा दिनबाट चुकिरहेका छन् भने अर्कोतर्फ नीजि अस्पताल आधारभूत नागरिकको पहुँचमा छैनन् भन्ने जनगुनासाहरु छन् ।’
आर्थिक अवस्था कमजोर भएकै कारण एयर एम्बुलेन्सको सेवा नपाएर विरामीले मृत्युवरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड थियो । उनले प्रत्येक प्रदेश, क्षेत्र तथा ठूला राम्रो हस्पिटलहरुले अनिवार्य एयर एम्बुलेन्स सेवाको व्यवस्था गर्न आवश्यक रहेको बताए ।
उपराष्ट्रपति पुनले एकाध बाहेक सबै रोगको उपचार नेपालमै सम्भव रहेको बताए । एक दशक पहिला आफू गम्भिर विरामी हुँदा स्वदेशमै उपचार गरेको प्रसँग स्मरण गर्दै उनले भने, ‘प्राय सबै खाले रोगको उपचार नेपालमै सम्भव छ र यसका लागि नेपाली डाक्टरहरु सक्षम छन् ।’
तर यसका लागि व्यवस्थित र प्रभावकारी उपचार प्रणालीको भने खाँचो रहेको उनको भनाइ छ ।
उपराष्ट्रपति पुनले भने, ‘काठमाडौंमा हुने इमर्जेन्सी उपचार जुम्लामा पनि होस्, ताप्लेजुङमा पनि होस्, दार्चुलामा पनि होस्, इमर्जेन्सी मेडिसिन सबैको पहुँचमा पुगोस् ।’
नेपलिज सोसाइटी इमर्जेन्सी फिजिसियन्स्का अध्यक्ष डा. अजयसिं थापाले प्रभावशाली इमर्जेन्सी उपचारका लागि सम्मेलन कोशेढुंगा सावित हुने बताए ।
प्रतिक्रिया दिनुहोस्