सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त
काठमाडौं, मंसिर ६ । सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शुक्रवार बसेको ३२० औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ ।
वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गर्नु भएका श्री खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत हुनु भएको हो।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्