दुर्घटना हुन नदिन ‘रेट्रो स्टिकर’, रातिको समय बढी दुर्घटना

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ ।

सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पबिन्द्र बमले बताए ।

नेपालगञ्ज–कोहलपुर सडकमा विशेषगरी रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको उनले बताए । प्रहरी निरीक्षक बमका अनुसार नेपालगञ्ज–कोहलपुर सडकमा दुर्घटना बढ्न थालेपछि रिफ्लेक्ट स्टिकर टाँसिएको हो ।

लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पबिन्द्र बमले बताए ।
नेपालगञ्ज–कोहलपुर सडकमा विशेषगरी रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको उनले बताए ।

प्रहरी निरीक्षक बमका अनुसार नेपालगञ्ज–कोहलपुर सडकमा दुर्घटना बढ्न थालेपछि रिफ्लेक्ट स्टिकर टाँसिएको हो ।‘नेपालगञ्ज–कोहलपुर सडकखण्डमा रातिको समय बढी दुर्घटनाहरु हुन थालेको पाइएकाले स्टिकर टाँसिएको हो,’ उनले भने ।

खुला सडक, तीव्र गति, मनपरी बाटो काट्ने, जहाँ पायो त्यहीँ पार्किङ गर्ने तथा पर्याप्त लाइटिङको कमीका कारण रातको समय नेपालगञ्ज–कोहलपुर सडकमा दुर्घटना हुने गरेको उनले बताए । ट्राफिक प्रहरी निरीक्षक बमले भने, ‘रिफ्लेक्ट स्टिकरले रातमा सवारीसाधन चलाउन सहजता दिए पनि यतिले मात्र सडक दुर्घटना न्यूनीकरण हुँदैन । सबैजना सचेत र सजग हुुनपर्छ ।’

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मात्र सम्भव नभएको बताउँदै उनले सबैको साथ र सहयोग हुनुपर्ने बताए । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकअनुसार असोज १२ देखि कात्तिक २५ गतेसम्म २९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् । दुर्घटनामा परी २ वटा पशुचौपायासमेत मरेका छन् ।

जहाँ जतिबेला मन लाग्यो त्यतिबेला सडक खन्ने खानेपानी संस्थानका कारण दुर्घटनाको जोखिम बढेको छ । कमसल निर्माणका कारण चार लेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला खानेपानी संस्थानले सडक जहाँ पायो त्यहीँ खनेर छाडेपछि दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन् ।

नेपालगञ्जको राँझादेखि जमुनाहासम्मको सडकखण्डमा जताततै खाल्डैखाल्डा पारिएको छ । खानेपानी संस्थानले आफ्नो पाइप मर्मत गर्ने नाममा ठाउँठाउँमा खाल्डा खन्दै छाडेको छ । पाइप मर्मत गरिसकेपछि पनि संस्थानले सामान्यरुपले खाल्डो पुर्ने कामबाहेक अरू केही नगरेको स्थानीयवासीको गुनासो छ ।

‘खानेपानी संस्थानले जथाभावी सडक खन्ने गरेको छ, यसले दुर्घटनाको खतरा झन् बढाएको छ,’ स्थानीय रामकुमार शर्माले भने ।

पटक–पटक खानेपानी संस्थानविरुद्ध प्रश्न उठेपनि कार्यालयले यस विषयमा चासो नदेखाएको उनको भनाइ छ । सडक निर्माणका क्रममा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजना कार्यालयबीच समन्वय नहुँदा समस्या देखिएको नेपालगञ्जवासीको भनाइ छ । जसका कारण सडकमुनि जथाभावी रुपमा गाडिएका पाइपबाट पानी लिकेज हुने गरेको छ ।

पानी लिकेज हुने बित्तिकै खानेपानी संस्थानले पाइप मर्मतका नाममा सडक नै खन्ने गरेको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख रामकुमार बेदले बताए । ‘खानेपानी संस्थानले पाइप मर्मत गर्ने नाममा सडक खन्ने काम गरिरहेको छ, यसरी खन्दै जाने हो भने सडकको अवस्था के होला ?’ उनले प्रश्न गरे ।

सडक निर्माणका क्रममा ३ निकायबीच समन्वय भएको भए अहिले सडक खन्ने अवस्था नआउने प्रमुख बेदको भनाइ छ । उनले भने, ‘खानेपानी संस्थानले सडक खन्दा सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सहमति लिनुपर्छ । सहमति विना सडक खन्न पाइँदैन । संस्थानले आफूखुशी सडक खनेर अलपत्र छाडिदिँदा सडकको गुणस्तर घटिरहेको छ ।’

४ लेन सडकका विभिन्न ठाउँमा खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको छ । सडकका खाल्डो नै दुर्घटनाको कारक बन्दै गएपछि यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान पुग्न नसकेको नेपालगञ्जवासीको गुनासो छ । सडक बनाउँदा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजनाबीच समन्वय नहुँदा समस्या भएको हो ।

४ लेन सडक निर्माणमा एडीबीको ६६ दशमलब ६ प्रतिशत ऋण अनुदान र नेपाल सरकारको ३३ दशमलव ३ प्रतिशत लगानी भएको थियो । नेपालगञ्ज–कोहलपुर आयोजनाको ‘आइसिबी कन्ट्रयाक्ट–१’ अन्तर्गत राँझा–जमुनाहा खण्ड एमएमआर पप्पु जेभी कम्पनी र राँझा–कोहलपुर खण्ड ‘आईसीबी कन्ट्रयाक्ट–२’ अन्तर्गत कालिका कन्सट्रक्शन कम्पनीले निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्