एलआरआई इन्टर स्कूल बास्केटबल एण्ड फूटसल फेस्ट शुरु

काठमाडौं, कात्तिक २४ । काठमाडौँको कलङ्कीस्थित लर्निङ् रियल्म इन्टरनेशनल विद्यालयले विद्यार्थीको शारीरिक तथा व्यक्तित्व विकासका लागि आइतबार ‘एलआरआई इन्टर स्कूल बास्केटबल एण्ड फूटसल फेस्टिवल’ आयोजना गरेको छ ।

यही कात्तिक ३० गतेसम्म जारी रहने उक्त कार्यक्रमको शुुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसीले विद्यालयले विभिन्न गतिविधिमार्फत शैक्षिक उन्नयनका कार्य गरिरहेकाले प्रत्येक वर्ष राम्रो परिणाम आउने गरेको बताउँनुभयो ।

उहाँले महानगरभित्र निजी (संस्थागत) ६४४ विद्यालय तथा सरकारी (सामुदायिक) ९१ गरी ७३५ विद्यालय सञ्चालनमा रहेको जानकारी दिँदै यी सबै विद्यालयमा करीब दुई लाख विद्यार्थी अध्ययनरत रहेको आफ्नो संस्थासँग अभिलेख रहेको बताउनुभयो ।


काठमाडौँ महानगरपालिकाले राम्रो परिणाम प्राप्त गर्ने विद्यार्थी तथा शिक्षकलाई पुरस्कृत गर्ने गरेको स्मरण गर्दै विद्यार्थीमा यस्ता खेलकुद क्षेत्रको अभ्यास गराउँदा उनीहरुको शारीरिक स्वस्थ्यता, फूर्तिलो मानसिकताले शैक्षिक विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


विद्यालयका अध्यक्ष शिवराज पन्तले अबका विद्यार्थीलाई विद्यालयले अन्तरराष्ट्रिय तहको शिक्षाकासाथै व्यवसायिक सिपयुक्त जीवनपयोगी शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड
दिनुभयो ।


विद्यालयका प्राचार्य डा देवकान्त जोशीले विद्यार्थीलाई पाठ्यक्रमकासाथै अतिरिक्त क्रियाकलाप, नृत्य, सङ्गित, खेलकुदजस्ता विषयमा समेत सिकाइँदै आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्