सातामा १ अर्ब २३ करोडको शेयर कारोबार, बजार पूँजीकरण भने घट्यो

काठमाडौं, कात्तिक २३ । सातामा १ अर्ब २३ करोडको शेयर कारोबार भएको छ तर शेयर बजारमा यस साता कारोबार रकम बढेपनि नेप्से सूचक बढ्न नसक्दा बजार पूँजीकरण भने झनै घटेको छ ।


पछिल्ला केहि साताहरुमा १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुने गरेकोमा यस साता १८१ वटा कम्पनीको ४६ लाख ५० हजार कित्ता शेयर १ अर्ब २३ करोड रुपैयाँमा कारोबार भएको छ।


अघिल्लो साता तिहार विदाका कारण १ दिन मात्र शेयर कारोबार खुलेकाले २५ करोड ४३ लाख रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको थियो।

शेयर बजारमा खरीदभन्दा बिक्रीको चाप बढी हुँदा नेप्से सूचक झनै घटेको हो। पाँचै दिन खुलेको शेयर बजारमा चार दिन सूचक नकारात्मक नै देखिएको थियो भने एक कारोबार दिन मात्र नेप्से सूचक सकारात्मक रह्यो।

कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा नेप्से परिसूचक १४.१८ अंक अर्थात १.२४ प्रतिशतले घटेर ११३१.९९ बिन्दुमा झरेको छ। अघिल्लो साता ११४६.१७ बिन्दुमा रहेको नेप्से परिसूचक आइतबार, मंगलबार, बुधबार र बिहीबार नकारात्मक बन्दा तल्लो बिन्दुमा झरेको हो । सोमबार भने परिसूचक सकारात्मक बनेको थियो।

अधिकांश कम्पनीले गत आर्थिक वर्षको कमाईबाट आकर्षक लाभांश घोषण गरीरहँदा समेत शेयर बजारमा सुधारको संकेत नदेखिँदा लगानीकर्तामा भने निराशा हट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्