सिरहामा स्यालको टोकाइबाट १६ जना घाइते, स्थानीयवासी आतङ्कित

काठमाडौं, कात्तिक २० । सिरहामा स्यालको टोकाइबाट १६ जना घाइते भएका छन् ।
सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ जना स्यालको टोकाइबाट घाइते भएका हुन् ।

स्यालको टोकाइबाट स्थानीय ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाइ मेस्तर, पाँच वर्षीय मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दासलगायतका घाइते भएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।


बस्तीमा स्याल पसेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएको जनाएको छ । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो ।

प्रतिक्रिया दिनुहोस्