प्रभु बैंकको साधारण सभा मंसिर ६ मा , १६ प्रतिशत बोनस अनुमोदन गर्ने

काठमाडौं, कात्तिक १६ । प्रभु बैंकले आफ्नो अठारौँ वार्षिक साधारण सभा मंसिर ६ गते गर्ने भएको छ ।

बैंक लिमिटेडले बैंकको केन्द्रिय कार्यालय, बबरमहलमा अठारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो । सो सभा दिनको २ बजे सु हुनेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले कात्तिक २६ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्नेछ । बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सो सभाले हाल कायम चुक्तापूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ ।

सो सभाले बैंकको सेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेगरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल बैंकमा संस्थापक समूहको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी पनि प्रदान गर्नेछ ।


कात्तिक १५ गते बसेको बैंकको संचालक समितिको बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्