विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित
काठमाडौं , असोज २९ । विश्वकप फुटबल छनोट अन्तर्गतको चौथो खेलमा नेपाल जोर्डनसंग पराजित भएको छ ।
गएराति जोर्डनको राजधानी अम्मानमा भएको खेलमा घरेलु टोली ३–० ले विजयी भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा जोर्डनले तीन गोल गरेपछि नेपाल परािजत भएको हो ।
जोर्डनका लागि फेरास सेलबाइले ५६ औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरे । यसपछि अहमद अल–एर्सान र बाहा फैसलले एक एक गोल थप्दै जोर्डनको जित पक्का गरे ।
जितसँगै जोर्डन विश्वकप छनौटअन्तर्गत एसियाली समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अंक जोडेको छ । समान खेलबाट ९ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ ।
तेस्रो स्थानको कुवेतको ४ अंक छ भने ३ अंक मात्रै जोडेको नेपाल चौथो तथा अंकबिहिन चाइनिज ताइपेइ पाँचौ स्थानमा रहेको छ ।
यसैबीच नेपालले विश्वकप छनौटअन्तर्गत समूहका सबै टोलीसँग ‘अवे’ खेल खेलिसकेको छ ।
लगातार चार अवे खेल खेलेको नेपालले अब बाँकी रहेको ४ खेलहरु ‘होम गेम’ स्वरुप आफ्नै मैदानमा खेल्ने नेपालको तयारी छ ।
तर यसका लागि काठमाडौंको दशरथ रंगशाला समयै तयार हुनुपर्नेछ । नेपालले पाचौ खेल आगामी मंसिर ३ गते कुवेतविरुद्ध खेल्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्