फूलमा आत्मनिर्भर बन्दै : यस वर्ष तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने

काठमाडौ, असोज २७ । यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष भारतमा ल्याइने फुलको आयातीतमा कमी आउने भएको छ ।

पछिल्लो समय व्यावसायिकरूपमा फूलखेती गर्नेको संख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार पर्व परेकाले आयात गरिने फूलको संख्यामा कमी आउने भएको हो ।

गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो ।

यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभएपनि खपत हुने फूलको बढीमा सात प्रतिशतमात्रै फूल ल्याइने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

गत वर्ष १७ लाख माला खपत भएको थियो । सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्रीमात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।

यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एसोसिएसनको अनुमान छ ।

व्यावसायिकरूपमा फूलखेती गर्नेको संख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए ।

फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ ।

स्वदेश र विदेशमा गरी वार्षिकरूपमा रु एक अर्ब ८५ करोडको फूलको कारोबार हुँदा तिहारमामात्रै रु एक करोड फूलको कारोबार हुन्छ ।

तिहार आउनुभन्दा एक साता अघिबाटमात्रै आयातीत फूल ल्याउन सुरु गरिन्छ ।

यसै गरि चाडबाड र अन्य समयमा पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ ।

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ ।

मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्