नेपाल क्रिकेट संघमा चन्दको प्यानल विजयी, कसको मत कति ? ( नामावलीसहित)

काठमाण्डौ , असोज ११ । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । यो संगै नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पाएको छ ।

५९ मतदाता रहेकोमा चतुरबहादुर चन्दले अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई २९ मतले पराजित गरेका हुन् ।

चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत मात्रै प्राप्त गरे । योसँगै यसअघि निर्वा्चित भएर पनि काम गर्न नपाएका चन्दलाई दोस्रो पटक क्यानको नेतृत्व गर्ने अवसर आएको छ । शनिबारको निर्वाचनसँगै नेपालको निलम्बन फुकुवा हुने विश्वास लिइएको छ ।

तत्कालीन अवस्थामा क्यानमा चन्द निर्वा्चित भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको थिएन भने रमेश कुमार सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेपछि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानलाई प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि आईसीसीको रोडम्यापअनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन भएको हो । निर्वाचनमा चन्द र पाण्डेले दुई वटा प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । जसमा सबै पदमा चन्द प्यानलका पदाधिकारी निर्वा्चित भएका छन् । सदस्यमा भने प्यान नबनाए पनि अधिकांश सदस्यहरु चन्द निकट रहेका छन् ।

शनिबार भएको मतगणनाको अन्तिम परिणामअनुसार चन्द प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राजबाबु श्रेष्ठले पाण्डे प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका मिङ्मा डण्डु शेर्पालाई २४ मत अन्तरले पराजित गरे । श्रेष्ठले ४१ मत प्राप्त गर्दा लामाले १७ मत प्राप्त गरे ।

सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरलेले पाण्डे प्यानलका विनोद मैनालीलाई २८ मतले पराजित गरेका छन् । प्याकुरेलले ४३ मत प्राप्त गर्दा मैनालीले १५ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा पनि चन्द प्यानलकै रोशन सिंहले पाण्डे प्यानलका उपेन्द्र भट्टराईलाई ३३ मतले पछि पारेका थिए । सिंहले ४५ मत ल्याउँदा भट्टराईले १२ मत मात्रै प्राप्त गरे ।

प्रदेश अन्तर्गत २, ४, ५ र ६ मा सदस्य निर्विरोध निर्वा्चित भएका थिए । महिला सदस्यमा जयन्ती भट्ट पनि यसअघि नै निर्विरोध निर्वा्चित भएकी थिइन् ।

तर, प्रदेश सदस्य अन्तर्गत १ र ३ मा चुनाव भएको थियो । जसमा प्रदेश १ बाट कैलाश विष्ट विजयी भए । कैलाशले ३७ मत ल्याएर विजयी हुँदा लाक्पा लामाले २१ मत प्राप्त गरे । प्रदेश ३ मा अमितवीर पाण्डे विजयी भएका छन् । पाण्डे ३९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कैलाश प्रधानले १९ मत ल्याए ।

पाँच जना खुला केन्द्रीय सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा सर्वा्धिक ४२ मत ल्याएर प्रदेश ३ बाट प्रतिनिधि बनेका दुर्गाराज पाठक निर्वा्चित भए ।

यसैगरी दोस्रो सदस्यको रुपमा कञ्चनपुरका वीरेन्द्रबहादुर चन्दले ३६ मत ल्याउँदै विजयी भए । तेस्रो स्थानमा सर्लाहीका माधवकुमार कर्माचार्य ३५ मतका साथ विजयी भए ।

चौथो सदस्यको रुपमा प्रदेश नम्बर ५ र ६ का सञ्जय सिंह ३४ मत ल्याउँदै विजयी भए । पाँचौं सदस्यको रुपमा ३० मत ल्याएका करण मलहोत्रा क्षत्री विजयी भएका छन् ।

यसैगरी पराजित हुने अरु उम्मेदवारहरुमा धिरेन्द्र साउद २८, पवन अग्रवाल २०, नरेश राणा १७, प्रफुल्ल वैद्य १६, जगत टमाटा १५ र अर्जुन पौडेलले १४ मत प्राप्त गरेका छन् ।

सुदूर पश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वा्चित भएका छन् । कर्णालीबाट पदमबहादुर खड्का, ५ बाट प्रशान्त विक्रम मल्ल, गण्डकीबाट ऋषिराम गौतम र प्रदेश २ बाट दाउद अन्सारी निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्