अब नेपाली क्रिकेटले थप उचाइ लिन्छः मन्त्री विश्वकर्मा

काठमाडौं , असोज १० । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेटले थप उचाइ लिने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभाको उद्घाटन सत्रमा मन्त्री विश्वकर्माले क्यान निर्वाचन सम्पन्न भएसँगै नेपाली क्रिकेटले थप उचाइ लिने विश्वास व्यक्त गरेका हुन् ।

साढे ३ वर्षदेखि क्यान आईसीसीको निलम्बनमा छ । नयाँ नेतृत्व चयन भएसँगै आईसीसीले नेपालमाथिको निलम्बन फुकुवा गर्ने प्रवल सम्भावना छ ।

मन्त्री विश्वकर्माले फुकुवालाई संकेत गर्दै आजको दिनलाई ऐतिहासिक दिनको संज्ञा दिएका छन् । उनले भने, “क्यानको विवाद समाधानका लागि मैले छुट्टाछुट्टै साथीहरुसँग भेटेर छलफल गरेको थिएँ । मिलाउन प्रयास गरेको थिएँ । आईसीसीको रोडम्याप अनुसार सबै जना तयार हुनुभयो । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि विशेष हो ।”

साधारणसभाले भोलि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्