सनराइज फस्र्ट म्युचुअल फण्डको इकाई निष्काशन, पहिलो वर्ष नै १० प्रतिशत प्रतिफल दिने प्रक्षेपण

काठमाडौँ , असोज ७ । सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन र सनराइज बैंकद्वारा प्रवद्र्धन गरिएको ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ १० वर्षे बन्दमुखी योजनाको ८ करोड ५० लाख इकाई असोज ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरिने भएको छ ।

रु. १० अंकित दरको १० करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक सनराइज बैंकका लागि सुरक्षित राखी ८ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुला गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजयलाल श्रेष्ठले बताए । पहिलो वर्ष नै सामुहिक लगानीकोषका लगानीकर्तालाई १० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।

यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तरगत साथै मेरो सेयर अनलाइन प्रमाणी मार्फत आवेदन दिन सकिने छ ।

सेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिम न्यूनीकरणका लागि सामुहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहेको सनराइज क्यापिटलका सीईओ श्रेष्ठले बताए । सनराइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।

योजनाको कोष सुपरीवेक्षकमा चण्डीप्रसाद ढकाल, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, पूर्णमान श्रेष्ठ र सुधिरकुमार श्रेष्ठ गरी ५ जना रहेका छन् ।

शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभ लिन सकिने छ ।

निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडममा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।

उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुले असोज ८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्