ईपीएलको प्रत्यक्ष प्रशारण डी–स्पोर्टसबाट हुने
काठमाडौं , भदौ ३१ । आगामी फागुनमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय च्यानल डी–स्पोर्टसबाट हुने भएको छ ।
आयोजक ईपिएलले डिस्कभरी नेटवर्कको ‘डी–स्पोर्टस’ नामक च्यानलसँग सम्झौता गरेसँगै यो संस्करणको प्रत्यक्ष प्रशारण भारतीय च्यानलबाट हुने भएको हो ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा ईपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र डी स्पोर्टसका सिइओ दिलिप शरणले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रबन्ध निर्देशक अख्तरले डि–स्पोर्टससँगको सम्झौताले गर्व महसुस भएको बताए ।
यो सम्झौतासँगै विश्वसामु नेपालको राम्रो सन्देश जाने उनको भनाइ थियो । डी स्पोर्टसका सिइओ दिलिप शरणले प्रतियोगिताका लागि उत्साहित रहेको बताए ।
डिस्कभरी एसिया प्यासिफिकले सञ्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकार खरिद गरे पनि नेपालको लागि भने प्रसारण अधिकार ईपीएलसँग रहेको अख्तरले बताए ।
डीस्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिसकेको छ । ईपीएलको चौथो संस्करण आगामी फागुन तेस्रो साताबाट सुरु हुँदैछ । चैत १ गतेसम्म संचालन हुने लिगमा ६ सहरका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्